हाम्रो बारेमा
नेपाली कम्युनिष्ट पार्टी
नेपालमा १० वैशाख २००६ (२२ अप्रिल १९४९) मा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी उत्पीडित श्रमिक वर्गको राजनीतिक प्रतिनिधिका रूपमा उदाएको ऐतिहासिक शक्ति हो । विभिन्न संघर्ष, प्रतिबन्ध, टुटफुट र एकताका आरोह–अवरोह पार गर्दै यो पार्टी नेपाली कम्युनिष्ट आन्दोलनको मूलधारका रूपमा स्थापित भएको छ ।
नेपाली कम्युनिष्ट पार्टी श्रमजीवी जनता, किसान, मजदुर, उत्पीडित वर्ग र समुदायको हक–अधिकारका लागि संघर्षरत रहँदै पूर्ण मुक्ति, स्वतन्त्रता, समानता र सामाजिक न्याय प्राप्तिलाई आफ्नो केन्द्रीय उद्देश्य बनाउँदै आएको छ । सामन्तवाद, साम्राज्यवाद र दलाल पुँजीवादसहित सबै प्रकारका शोषण र विभेदको अन्त्य गर्दै समाजवादी व्यवस्था स्थापना गर्नु पार्टीको मूल लक्ष्य हो ।
जनयुद्ध, १२ बुँदे समझदारी र २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धिहरूका आधारमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकास गर्दै संविधानमा उल्लिखित समाजवाद उन्मुख राज्यव्यवस्थालाई व्यवहारमा रूपान्तरण गर्नु आजको प्रमुख कार्यभार हो ।
पछिल्लो पटक झण्डै डेढ दर्जन कम्युनिष्ट तथा समाजवादी दल र घटकहरू एकीकृत भई गठित नेपाली कम्युनिष्ट पार्टी ले बृहत वामपन्थी एकता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित नेपाली विशेषताको वैज्ञानिक समाजवादतर्फको यात्रा अघि बढाएको छ ।
मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त र जनवादी केन्द्रीयता लाई संगठनात्मक आधार मानेको यो पार्टी २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टीको अविच्छिन्न उत्तराधिकारी हो । पार्टी जनआधारित, कार्यकर्ता केन्द्रित र सदस्य सार्वभौमसत्तामा आधारित संगठन हो, जसको लक्ष्य शोषणरहित, विभेदरहित र समतामूलक समाज निर्माण गर्नु हो ।
पार्टीका विचार, नीति, कार्यक्रम, निर्णय, गतिविधि तथा आधिकारिक धारणा सार्वजनिक गर्न नेपाली कम्युनिष्ट पार्टीको आधिकारिक वेबसाइट www.Nepalicommunist.com सञ्चालनमा ल्याइएको छ । यस वेबसाइटमार्फत पार्टीका वैचारिक सामग्री, संगठनात्मक निर्णय, राजनीतिक गतिविधि तथा जनसरोकारका विषयहरू नियमित रूपमा सार्वजनिक गरिनेछन् ।
नेपाली कम्युनिष्ट पार्टी श्रमजीवी जनता, युवा, महिला, किसान, मजदुर, दलित, आदिवासी जनजाति, मधेसी र उत्पीडित समुदायहरूसँगै जनताकै नेतृत्वमा समाजवाद निर्माणको महान् यात्रामा दृढतापूर्वक अघि बढिरहेको छ ।