कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरी पुनर्जीवित गर्न आवश्यक छ : संयोजक प्रचण्ड

काठमाडौं, ९ श्रावण–नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट आन्दोलनलाई फेरि एकताबद्ध गरी पुनर्जीवित गर्न आवश्यक रहेको बताउनुभएको छ । 

आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले भन्नुभयो, “अहिले कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको छ । कम्युनिष्ट आन्दोलनलाई फेरि एकताबद्ध गर्न जरुरी छ ।”

उहाँले देशको स्वाधीनतामाथि आइपरेको सङ्कट समाधान गर्न, कम्युनिष्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्न र आन्दोलनलाई एकताबद्ध गर्न जरुरी रहेको बताउनुभयो । संयोजक प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवित गरी देशको नेतृत्व लिने सङ्कल्प गर्नुपर्ने समय आएको स्पष्ट गर्नुभयो ।

उहाँले देशमा निरङ्कुश प्रवृत्ति देखा परेको र त्यसका विरुद्धमा एक पटक पुनः सङ्घर्ष गर्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नरबहादुर कर्माचार्यको योगदान र कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्थाबारे छलफल भएको थियो ।