गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको छ : संयोजक प्रचण्ड

काठमाडौं, ७ श्रावण – पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको बताउनुभएको छ । उहाँले प्रतिक्रान्तिविरुद्ध नयाँ अभियान सञ्चालन गर्ने संकल्प गर्नुपर्ने बताउनुभयो ।

पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले बिहीबार चम्पादेवीमा आयोजना गरेको ४८ औँ पुष्पलाल स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले भन्नुभयो, “देशमा जुन प्रतिक्रान्तिको हावा चलिराखेको छ । जसले गणतन्त्रका उपलब्धिमाथि या कमरेड पुष्पलालको शिक्षा अनुसार भएका परिवर्तनमाथि हमला गरेको छ । त्यसका विरुद्ध फेरि एउटा नयाँ अभियान सञ्चालन गर्ने संकल्पको दिनको रुपमा रहेको छ ।”

उहाँले पुष्पलाल श्रेष्ठले सामन्तवाद र साम्राज्यवादविरुद्ध वैचारिक हतियार निर्माणमा ठूलो योगदान गरेको स्मरण गर्नुभयो । “वैचारिक र राजनीतिक रुपमा पुष्पलालले विचार निर्माणमा धेरै मेहनत गर्नुभएको छ,” उहाँले भन्नुभयो, “नेपालमा कम्युनिष्ट पार्टीको आवश्यकता महसुस गरी वैचारिक तथा राजनीतिक आधार खडा गर्ने कष्टसाध्य जिम्मेवारी पुष्पलालले निर्वाह गर्नुभयो ।”

संयोजक प्रचण्डले पुष्पलालको विचारलाई पछ्याउँदै कम्युनिष्ट आन्दोलनलाई एकीकृत र मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पुष्पलाल श्रेष्ठको जीवन, विचार र योगदानबारे छलफल भएको थियो ।