नयाँ ऊर्जाका साथ कम्युनिष्ट आन्दोलन अगाडि बढाउनुपर्छ सहसंयोजक: नेपाल

काठमाडौं, ९ श्रावण- नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनले केही धक्का खाएको स्वीकार गर्दै नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसका अवसरमा आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सहसंयोजक नेपालले भन्नुभयो, “कम्युनिष्ट आन्दोलनमा उतारचढाव आउनु स्वाभाविक हो । घोडाबाट लडेपछि जिउको धुलो टक्टक्याएर पुनः नयाँ उत्साहका साथ अगाडि बढेझैँ हामी पनि नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ ।”

उहाँले वि.सं. २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भएदेखि प्रतिबन्धित कालखण्डसम्म पार्टीलाई जीवन्त तुल्याउन संस्थापक सदस्य नरबहादुर कर्माचार्यको भूमिका अविस्मरणीय रहेको बताउनुभयो । विशेषगरी मजदुर आन्दोलनलाई उचाइमा पुर्‍याउन कर्माचार्यले निर्वाह गरेको नेतृत्वदायी भूमिकालाई उहाँले प्रशंसा गर्नुभयो ।

सहसंयोजक नेपालले इतिहासका महत्त्वपूर्ण घटनाक्रम र दस्तावेजहरूको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जेनेजी आन्दोलनका क्रममा आफूहरूको घरमा आगलागी हुँदा महत्त्वपूर्ण अभिलेखहरू नष्ट भएको स्मरण गर्नुभयो ।

उहाँले इतिहासका विभिन्न मोडमा योद्धा र नेताहरूले पुर्‍याएको योगदानकै कारण कम्युनिष्ट आन्दोलन यहाँसम्म आइपुगेको उल्लेख गर्दै ती कीर्तिमानहरूलाई संस्थागत गर्नुपर्ने बताउनुभयो ।