कप्तानगञ्ज घटना : छानबिनको नेपाली कम्युनिष्ट पार्टीको माग

काठमाडौं, १२ श्रावण – नेपाली कम्युनिष्ट पार्टीले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको दुःखद घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै प्रहरीले जथाभावी गोली चलाएर नागरिकको हत्या गरेको ठहर गरेको छ ।

पार्टीका प्रवक्ता प्रकाश ज्वालालेद्वारा जारी प्रेस विज्ञप्तिमा दुई पक्षबीचको विवादले उग्र रूप लिएपछि झडपको स्थिति उत्पन्न भएको र राज्य पक्षबाट संयमित रूपमा समाधान गर्नुपर्नेमा बत्ती नभएको रातिको समयमा सुरक्षाकर्मीहरूले जथाभावी गोली चलाउँदा देवानगञ्ज–४ निवासी ओमप्रकाश मेहताको मृत्यु भएको तथा दर्जनभन्दा बढी व्यक्ति गम्भीर घाइते भएको उल्लेख गरिएको छ ।

पार्टीले मारिएका ओमप्रकाश मेहताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

विज्ञप्तिमा नागरिकमाथि गोली चलाउनुपर्ने अवस्था नै नभएको र घातक हतियार प्रयोग गरी नियम–कानुनविपरीत घुँडामाथि गोली हानी निहत्था नागरिकको हत्या गर्नु गम्भीर अपराध र राज्य आतंक भएको ठहर गरिएको छ । यो घटना गम्भीर मानवअधिकार उल्लङ्घन मात्र नभई गैरन्यायिक हत्याको उदाहरण भएको पार्टीको धारणा छ ।

पार्टीले घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताउँदै स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न, मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेको छ । यस्तै पार्टीले परिस्थिति थप जटिल बन्न नदिन, शान्ति–सुरक्षा सुदृढ बनाउन र वार्ता तथा संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान गरी सामाजिक सद्भाव कायम गर्न सरकार तथा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ । सबै पक्षलाई थप संयमित हुन र सामाजिक सद्भाव कायम राख्न पनि अपिल गरेको छ ।