समाजवादको लक्ष्यमा सहकार्य गरौँ : संयोजक प्रचण्ड
कोलम्बो (श्रीलङ्का), १ श्रावण – नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसियाका कम्युनिस्ट तथा वामपन्थी आन्दोलनहरूलाई समाजवाद निर्माणको लक्ष्यमा सहकार्य गर्न आह्वान गर्नुभएको छ ।
इन्टरनेशनल पिपुल्स एसेम्बली (IPA) को आयोजनामा कोलम्बोमा सुरु भएको ‘Hands Off Asia’ अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै संयोजक प्रचण्डले एसियाका कम्युनिस्ट आन्दोलनहरूको ऐतिहासिक विजय र सिकिएका कठिन पाठहरूबारे गम्भीर चर्चा गर्नुभयो ।
बदलिँदो वैश्विक परिदृश्य र महाशक्तिहरूको तीव्र दबाबका बिच पनि असंलग्नताको नीति र समाजवादी निर्माण नै उत्पीडित राष्ट्रहरूका लागि सबैभन्दा महत्त्वपूर्ण लक्ष्य रहेको उल्लेख गर्दै उहाँले यसको राजनीतिक रूपरेखा प्रस्तुत गर्नुभयो ।
सम्मेलनमा श्रीलङ्काका क्याबिनेट वातावरण मन्त्री डा. दम्मिका पाताबेन्दीले अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को ऋणदाता कार्यक्रमको कठोर सर्तहरूको सामना गर्दै जनपक्षीय मार्ग पहिल्याउने विषयमा आफ्नो धारणा राख्नुभयो ।
विश्वविख्यात मार्क्सवादी लेखक तथा ‘ट्राइकोन्टिनेन्टलः इन्स्टिच्युट फर सोसल रिसर्च’ का कोर्डिनेटर विजय प्रसादले विश्वव्यापी सैन्यीकरण, सार्वभौम ऋण संकट र उग्र दक्षिणपन्थको उदयलाई साम्राज्यवादी संरचनासँग जोडेर विस्तृत विश्लेषण प्रस्तुत गर्नुभयो ।
तीन दिनसम्म चल्ने सम्मेलनमा विभिन्न राजनीतिक मुद्दाहरूमाथि छलफल हुनेछ । सम्मेलनको साइडलाइनमा संयोजक प्रचण्डले क्युबा, भेनेजुएला, ब्राजिल लगायतका ल्याटिन अमेरिकी देशका शीर्ष वामपन्थी नेताहरूसँग द्विपक्षीय भेटघाट गर्नुभएको छ ।
सम्मेलनको दोस्रो सत्रमा नेपाली कम्युनिष्ट पार्टीका नेता बलराम बास्कोटाले ‘वामपन्थी शक्तिहरूबीचको विभाजनमा साम्राज्यवादको भूमिका’ विषयमा वैचारिक प्रस्तुति राख्नुभएको थियो ।




