गणतन्त्रपछि धेरै उपलब्धि भयो, 'केही भएन' भन्ने भ्रम छरियोः संयोजक प्रचण्ड
बिराटनगर, २०८३ असार– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र स्थापनापछि देशले ठूलो परिवर्तन र उपलब्धि हासिल गरेको बताएका छन्। उनले ‘केही पनि भएन’ भन्ने भ्रम फैलाइएको बताउनुभएको छ ।
आज बिराटनगरमा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले भन्नुभयो, “गणतन्त्र आएपछि केही पनि भएको होइन, हामीले धेरै गर्यौं तर केही भएन भन्ने भ्रम मात्र छरियो।”
गणतन्त्र, संघीयता र समावेशीताको पक्षमा ठोस उपलब्धि हासिल भएको भन्दै संयोजक प्रचण्डले जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त उपलब्धिहरूलाई कम आँकलन गर्न नहुने प्रष्ट पार्नुभयो। २४० वर्ष पुरानो राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गरिएको, समावेशी, संघीयता र समानतामूलक संविधान जारी गरिएको, सात प्रदेश र स्थानीय तहसहितको संघीय संरचना कार्यान्वयन गरिएको र महिला, दलित, जनजाति, मधेशी लगायतका समुदायलाई राज्य संरचनामा समावेशीकरण गरिएको संयोजक प्रचण्डको भनाई छ ।
संयोजक प्रचण्डले केही शक्ति केन्द्रहरूले जनतालाई निराश तुल्याउन ‘केही भएन’ भन्ने भ्रम फैलाएकोले पार्टी कार्यकर्ताहरूलाई यो भ्रम चिर्न र गणतन्त्रका उपलब्धिलाई रक्षा गर्दै समाजवादतर्फको यात्रालाई अघि बढाउन निर्देशन समेत दिनुभयो।
कार्यक्रममा माओवादी केन्द्रका स्थानीय तथा प्रदेशस्तरीय नेताहरूको उपस्थिति थियो।
