हतारमा पार्टी एकता गर्ने पक्षमा छैनः संयोजक प्रचण्ड

काठमाडौं, १४ असार – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारमा पार्टी एकता गर्ने पक्षमा आफू नरहेको बताउनुभएको छ । उहाँले बिना समीक्षा हतारमा एकता गरेर फेरि विभाजन हुने अवस्था नआओस् भन्नेमा सतर्क रहनुपर्ने बताउनुभयो ।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले राष्ट्रियसभा गृहमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले भन्नुभयो, “हामी आफैंले आत्मसमीक्षा गर्ने कुरालाई प्राथमिकता दिनुपर्छ ।”

उहाँले राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंकुशता, फासिज्म र वैदेशिक दबाबका विरुद्ध वामपन्थी तथा देशभक्त शक्तिहरू छिट्टै एक हुनुपर्ने बताउनुभयो । “संसद्, सडक, चुनाव जता एकता गर्न सकिन्छ त्यस ठाउँमा सहकार्य गर्न सकिने” उहाँको भनाइ छ ।

प्रचण्डले गत भदौ २४ पछि मुलुकको राष्ट्रियता कमजोर हुँदै गएको बताउनुभयो । “नेपालबाट कम्युनिस्ट आन्दोलनको प्रभाव सिद्ध्याउन दुनियाँभरका प्रतिक्रियावादी लागिरहेका छन्,” उहाँले भन्नुभयो, “यो परिस्थितिमा हामीले ढिलो नगरी राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंकुशताका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी एकता र सहकार्य गर्नुपर्छ । सहकार्य गर्न ढिलो गर्दा दुर्घटना हुनसक्छ ।”

संयोजक प्रचण्डले विगतका कमजोरीबारे आफू समीक्षा गर्न तयार रहेको बताउँदै सबै नेता त्यसमा तयार भएर राष्ट्रका सामु आएको चुनौतीको सामना मिलेर मात्र गर्न सकिने बताउनुभयो । उहाँले सबैले आफ्नो ठाउँबाट वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहको आयोजना गरिएको थियो ।