समाजवादी मोर्चामा भएकाहरूसँग एकता छिट्टै हुँदैछ, अन्तिम क्रमभङ्ग हेरेर अघि बढ्नुस : संयोजक प्रचण्ड
विराटनगर, १२ असार – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चामा रहेका शक्तिहरूसँग छिट्टै एकता हुने बताउनुभएको छ । उहाँले नेकपा एमालेसँग पनि सहकार्य गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
विराटनगरमा आयोजित प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले भन्नुभयो, “हिजै हामी समाजवादी मोर्चामा भएकाहरूसँग एकता छिट्टै हुँदैछ र नेकपा एमालेसँग सहकार्य हुँदैछ ।”
उहाँले तत्काल पार्टी एकता नभए पनि कार्यगत सहकार्य अघि बढाउने स्पष्ट गर्नुभयो । “अहिले एमालेसँग तत्कालै एकताको कुरा हामीले गरेका छैनौँ,” उहाँले भन्नुभयो, “सहकार्य पार्लियामेन्ट्री संघर्षमा, सडक सङ्घर्षमा र चुनावमा सहकार्य गर्दा नयाँ ठाउँमा पुर्याउन सकिन्छ ।”
संयोजक प्रचण्डले संसद्मा बलियो उपस्थिति बनाउन र वामपन्थी शक्तिहरूसँग सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा पनि सहकार्यको सहमति हुन सक्ने उल्लेख गर्नुभयो ।
बैठकमा उहाँले आफूमाथि हुने आलोचना र सामाजिक सञ्जालको गालीलाई सामान्य रूपमा लिन कार्यकर्तालाई आग्रह गर्नुभयो । आफूहरू ‘घण्टी बजाउने भिक्षु’ नभएको टिप्पणी गर्दै उहाँले जुनसुकै बेला क्रान्तिकारी निर्णय लिन तयार रहेको बताउनुभयो ।
“हामी जस्तोसुकै क्रमभङ्ग गर्न तयार भएका मान्छे हौँ, क्रमभङ्ग गर्दै आएका हौँ,” उहाँले भन्नुभयो, “महाधिवेशनमा अर्को क्रमभङ्ग गरिन्छ । तपाईंहरू बोल्डली अगाडि आउनुस् । नहिचकिचाइकन, नडराइकन, भ्रममा नपरीकन अगाडि आउनु र हेर्नुस् क्रमभङ्ग कस्तो हुँदो रहेछ । **मेरो अन्तिम क्रमभङ्ग हेरेर अघि बढ्नुस् ।”
