कर्णाली बस दुर्घटनाप्रति संयोजक प्रचण्डद्वारा गहिरो दुःख व्यक्त
उद्धार र राहत कार्यमा आवश्यक समन्वय र सहयोगमा जुट्न स्थानीय पार्टी पङ्क्तिलाई निर्देशन
काठमाडौं, १८ असार – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको यात्रुवाहक माइक्रो बस कर्णाली राजमार्गको साङ्गेतडास्थित कर्णाली नदीमा खस्दा भएको दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
संयोजक प्रचण्डले भन्नुभएको छ, “सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको यात्रुवाहक माइक्रो बस कर्णाली राजमार्गको साङ्गेतडास्थित कर्णाली नदीमा खस्दा ठूलो जनधनको क्षति भएको घटनाले मलाई अत्यन्त मर्माहत र दुखित बनाएको छ ।”
उहाँले दुर्घटनामा ज्यान गुमाउनु भएका मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
प्रचण्डले दुर्घटनामा बेपत्ता भएका यात्रुहरूको तीव्र खोजी, घाइतेहरूको तत्काल उद्धार तथा प्रभावकारी उपचारका लागि सम्बन्धित सरकारी निकाय र स्थानीय प्रशासनसँग आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “विपदको यस घडीमा उद्धार र राहत कार्यमा आवश्यक समन्वय गर्दै सहयोगमा जुट्न म स्थानीय पार्टी पङ्क्तिलाई समेत निर्देशित गर्दछु ।”
यो दुर्घटनाप्रति संयोजक प्रचण्डले सम्बन्धित सबै पक्षलाई उच्च सतर्कता अपनाउन र प्रभावित परिवारलाई सहयोग गर्न आह्वान गर्नुभएको छ ।
