भावनाको कुरा गरेर मात्र कम्युनिस्ट एकता हुँदैन : माधव नेपाल
काठमाडौं, १५ असार – नेकपा (एकीकृत समाजवादी) का सहसंयोजक माधव कुमार नेपालले भावनाका कुरा गरेर मात्र कम्युनिस्ट एकता नहुने बताउनुभएको छ । उहाँले कम्युनिस्ट आन्दोलनभित्र देखिएको समस्याको गम्भीर आत्मसमीक्षा गर्न आवश्यक रहेको बताउनुभयो ।
जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले राष्ट्रियसभा गृहमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै सहसंयोजक नेपालले भन्नुभयो, “हामीले विगतको विसङ्गतिको आत्मसमीक्षा गर्नुपर्छ । यो एउटा पार्टीको निम्ति मात्रै होइन, नेपालका जति पनि कम्युनिस्ट घटकहरू छन्, ती सबैले आ-आफ्नो पार्टीभित्र आत्ममन्थन गर्नुपर्छ, आत्मचिन्तन गर्नुपर्छ ।”
उहाँले थप्नुभयो, “त्यो आत्ममन्थन गरेर सही निष्कर्षमा पुग्न सक्यौँ भने बल्ल कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउन सकिन्छ । नभए भावनाको कुरा गरेर मात्र हुँदैन ।”
सहसंयोजक नेपालले एकताको लागि पहिला मन मिल्नुपर्ने बताउनुभयो । उहाँले जननेता मदन भण्डारीको भनाइ उद्धृत गर्दै भन्नुभयो, “कुराले चिउरा भिज्नेवाला छैन । त्यसकारण कुरा मात्रै गरेर हुनेवाला केही पनि छैन । त्यस हुनाले चिउरा भिजाउनका लागि कि त दही नै चाहिन्छ कि त दूध नै चाहिन्छ ।”
उहाँले अहिलेको यथार्थताको धरातलमा टेकेर व्यापक छलफल र बहस चलाएर मिल्न सकिने कुराहरूमा मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । सहसंयोजक नेपालले आजभोलि नै कम्युनिस्ट पार्टीहरू मिल्ने सम्भावना नदेखेको पनि स्पष्ट गर्नुभयो ।



